नेपाल अहिले इतिहासको बडो कठिन घडीबाट गुज्रिरहेको छ । विगत आधा शताब्दीमा नेपालले प्रजातन्त्रको अपहरण, त्यसको पुनर्बहाली, माओवादी सशस्त्र विद्रोहका घुम्तीहरु पार गर्दै आएको छ । जननिर्वाचन मार्फत संविधानसभाको गठन भएको छ । राजतन्त्रको विधिवत् उन्मूलन गरिएको छ । जनतामा नौलो आशा पलाएको छ । जनता शान्ति चाहन्छन् र नेपाली समाज तथा राजनीतिमा आमूल परिवर्तन आएको हेर्न चाहन्छन् । तर कस्तो खालको परिवर्तन र राजनीतिक व्यवस्था भन्ने कुरा विवादको विषय हुन सक्छ ।

राजनीतिक पार्टीहरु, नागरिक समाज, सामाजिक समूहहरु माझ र सञ्चार जगत्मा नेपालको भावी रुपरेखाबारे सार्वजनिक छलफल चलिरहेको अवस्था छ । यस्ता छलफलहरूबाट संघीय संरचना र समावेशी प्रकृतिको गणतन्त्रात्मक लोकतन्त्रको पक्षमा अभिमत जाहेर भएको पाइन्छ र त्यसै अनुकूल संविधान बन्ने अपेक्षा रहेको देखिन्छ । शहरी शिक्षित वर्गले यस बेला अनेक विचार र अवधारणाबारे चर्चा चलाइराखेका छन् । तर अबोला जनताको ठूलो हिस्साको चाहना के छ भन्ने चाहिं अनुमानकै विषय छ । किनभने लगभग आधा जनसंख्या निरक्षरताको अँध्यारोमा छन् र उनीहरु आप्mना चाहनालाई प्रस्टतासाथ अभिव्यक्त गर्न सक्ने स्थितिमा पक्कै छैनन् । त्यसमाथि सार्वजनिक छलफलका यी विषयहरु राजनीतिशास्त्र र दर्शनशास्त्रसित जोडिएका छन् । यस्तो अवस्थामा यी विषयहरुमा उनीहरुको ज्ञान र बुझाइ कति होला त्यो विचारणीय छ । उदाहरणका लागि, संघीयता, लोकतन्त्र, मानवअधिकार, समावेशीकरण, राज्य पुनर्संरचना जस्ता विषयलाई जनसाधरणले कसरी बुझेका होलान् ? तसर्थ समसामयिक छलफलका यस्ता विषयबारे जनतालाई शिक्षित तुल्याउने र ती विषयबारे उनीहरुका धारणा र विचार बुझ्नु आवश्यक छ ।

यही उद्देश्य राखेर सोसल साइन्स बहाःले यस्ता केही अवधारणाहरुलाई छानेर नेपालीमा तयार पारी त्यसको प्रसार–प्रचार गर्ने जमर्को गरेको छ । यसअघि सोसल साइन्स बहाःले यस विषयमा ‘अबको नेपाल’ शीर्षकमा नेपाल एफ.एम. रेडियो र नेपालभरि छरिएका त्यसका सञ्जाल मार्फत साप्ताहिक रेडियो कार्यक्रम पनि सञ्चालन गरेको थियो । पत्रपत्रिकाको माध्यमबाट ती विषयलाई प्रचारित गर्ने सिलसिलामा हिमाल खबरपत्रिकाको १६–३१ वैशाख र १६–३१ जेठ २०६६ को अंकमा छापिएको थियो ।

aba-ko-nepal-gyan-ko-nepal

Share Via: