कर्णाली लोक संस्कृति

खण्ड १ • इतिहास – सत्यमोहन जोशी

खण्ड २ • भौगोलिक दृष्टिकोण – स्थिर जङ्गबहादर सिंह

खण्ड ३ • जनजीवन – बिहारीकृष्ण श्रेष्ठ

खण्ड ४ • भाषा – चूडामणि बन्धु

खण्ड ५ • साहित्य सङ्गीत कला – प्रदीप रिमाल

आजभन्दा आधा शताब्दी अगाडि ‘लोक संस्कृति सर्वेक्षण’ अन्तर्गत विभिन्न पाँचवटा फाँटका पाँच जना विद्वान्‌ले ५० दिनसम्म कर्णाली अञ्चलको जुम्ला सिंजाखोला उपत्यकामा बसेर अध्ययन गरेका थिए। यी पाँचवटा खण्डमा विभक्त कर्णाली लोक संस्कृतिबारेको पुस्तक त्यही अध्ययनका उपज हुन्।

यस सर्वेक्षणले कर्णाली संस्कृतिका ऐतिहासिक, भौगोलिक, मानवशास्त्रीय, भाषिक अनि साहित्य, सङ्गीत, कला जस्ता विभिन्न पाटाहरू समेटेको थियो। अर्थात् यो कर्णालीको बहुपक्षीय अध्ययन थियो र यी किताबबाट हामीलाई कर्णालीका विभिन्न पक्ष बुझ्न सघाउ पुग्दछ। पचास वर्षको अन्तरलमा राज्य र नागरिकबीचको सम्बन्धका धेरै कुरा फेरिए होलान् तर पनि यी पुस्तक आज पनि सान्दर्भिक छन् किनभने यिनले हामीलाई कर्णालीमा आएको परिवर्तनबारे बुझ्न अहिले पनि आधार प्रदान गरेका छन्। कर्णाली सर्वेक्षणमा जसरी समग्र पक्षको अध्ययन भएको थियो त्यसरी अरु अध्ययन भएनन्। लामो समयसम्म बजारमा अनुपलब्ध यस शृङ्खलाको पुनर्प्रकाशनले त्यस सर्वेक्षणको प्रासंगिकता अहिले पनि रहेको जनाउन सहयोग पुर्‍याउँछ।


ललितपुरको पाटनमा वि.सं. १९७७ मा  जन्मिनुभएका सत्यमोहन जोशीले नेपाली इतिहास, संस्कृति र साहित्यमा ठूलो योगदान पु¥याउनुभएको छ। विभिन्न पुरस्कार र सम्मानले सुशोभित उहाँलाई नेपाल सरकारले वाङ्मय शताब्दी पुरुषको (वि.सं. २०७४) उपाधि प्रदान गरेको थियो । उहाँ पुरातत्त्व र सांस्कृतिक विभागको प्रथम निर्देशक हुनुहुन्थ्यो। उहाँले काठमाडौंमा राष्ट्रिय नाचघर र भक्तपुरमा राष्ट्रिय चित्रकला संग्रहालयको स्थापना पनि गर्नुभएको थियो । उहाँको पछिल्लो काम विशेष गरी नेपालको संस्कृति र इतिहास, साथै नेपालभाषामा केन्द्रित रहेको छ। उहाँले कीर्तिपुरमा अरनिको ग्यालरीको पनि स्थापना गर्नुका साथै नेपाल भाषा प्रज्ञा-प्रतिष्ठानको कुलपतिका रूपमा पनि सेवा गर्नुभएको थियो। उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य (वि.सं. २०२६–२०३५) पनि हुनुहुन्थ्यो र नेपाल प्रज्ञा-प्रतिष्ठानको आजीवन सदस्य पनि हुनुहुन्छ। उहाँले नेपालको संस्कृति र इतिहासबारे ६० भन्दा धेरै पुस्तकहरू, असंख्य लेखहरू प्रकाशन गर्नुभएको छ। तीन पटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने उहाँ एक मात्र व्यक्ति हुनुहुन्छ। यस किताबका साथै हाम्रो लोक संस्कृति (वि.सं. २०१३) र नेपाली राष्ट्रिय मुद्रा (वि.सं. २०१७) का लागि सो पुरस्कार पाउनुभएको हो।

स्थिर जङ्गबहादुर सिंहको जन्म वि.सं. १९९५ मा बझाङ जिल्लाको तमेलमा भएको थियो । उहाँले बझाङको सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी दिनुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट भूगोलमा स्नातकोत्तर गर्नुभएको थियो। उहाँले राष्ट्रिय योजना आयोगमा भूगोलविद्का रूपमा सरकारी सेवा सुरु गरी गृह मन्त्रालयको सहसचिव हुँदै अध्यागमन विभागको महानिर्देशक पदबाट सेवानिवृत्त हुनुभएको थियो ।

बिहारीकृष्ण श्रेष्ठ (१९९३-) ले सरकारी सेवामा विभिन्न पदमा रहेर तीन दशकभन्दा बढी काम गर्नुभएको थियो। सो अवधिमा उहाँले मुख्यतया ग्रामीण विकास, विकेन्द्रीकरण र समुदायकै स्वमित्वको विकास प्रक्रियालाई देशको विकासको आधारभूत संस्थाका रूपमा स्थापित गर्न योगदान दिनुभएको थियो। यस सन्दर्भमा स्थानीय स्तरमा उपभोक्ता समूहको संस्थागत व्यवस्था गर्नुका साथै त्यही अवधारणाका आधारमा समुदाय स्तरमा वन व्यवस्थापनको निम्ति सामुदयिक वन उपभोक्ता समूह र प्राथमिक स्वास्थ्यको क्षेत्रमा आमा समूह तथा तिनका महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि व्यवस्था गर्नुमा उहाँको विशेष योगदान रहेको थियो। अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर गर्नुभएका श्री बिहारीले केही समयका लागि त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन संस्थान (सिनास) मा रिडरको रूपमा पनि काम गर्नुभयो। नेपाल सरकारको सेवाबाट अवकाश भएपछि अनुसन्धान र परामर्श सेवामा संलग्न हुनुभयो। उहाँले नेपालमा विकास तथा सुशासन सम्बन्धी मुद्दाहरूका विभिन्न पक्षहरू जस्तै गरिबी निवारण, ग्रामीण विकास, विकेन्द्रीकरण र जनताको सशक्तीकरणबारे शोधकार्यहरु गर्नुभएको छ भने उहाँले ती विषयमा कलम चलाउँदै आउनुभएको छ। उहाँका धेरै पुस्तक र लेखहरू प्रकाशित भएका छन्। उहाँका प्रकाशित पुस्तकहरूमा Equality of Access of Women to Education in Pokhara: A Sociological Survey (1973) (co–author), A Himalayan Enclave in Transition: A Study of Change in the Western Mountains of Nepal (1993), Good Governance in Nepal Perspectives from Panchthar and Kanchanpur Districts (2000) र Developing Humla: Need for a Road–Plus Approach (2010) रहेका छन्।

चूडामणि बन्धु (१९९५-) ले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर र नेपाली भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी अहिले सेवानिवृत्त हुनुभएका प्राध्यापक डा. बन्धुले विश्वविद्यालयमा लामो समयसम्म भाषाविज्ञान, साहित्य र लोकवार्ताको अध्यापन र विद्यार्थीहरूलाई तिनको अनुसन्धान कार्यमा निर्देशन गर्नुभएको छ। नेपाली भाषा, साहित्य, लोकसाहित्य तथा बालसाहित्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यशाला र गोष्ठीहरूमा सहभागी हुनुभएको छ र उहाँले नेपाली र अङ्ग्रेजी भाषामा पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गर्नुभएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको सक्रिय सदस्य (२०४१-४७) र आजीवन सदस्यसमेत हुनुभएका प्राध्यापक बन्धुले त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागको संस्थापक विभागीय प्रमुख (२०५३-५७ ) का रूपमा कार्य गर्नुभएको हो। भाषाविज्ञान समाज, नेपाली फोकलोर सोसाइटी, नेपाल बालसाहित्य समाज जस्ता संस्थाको स्थापना र सञ्चालनमा प्राध्यापक बन्धुको विशेष सक्रियता रहेको छ र अहिले पनि उहाँ यस्ता अन्य कतिपय संस्थाहरूसँग सम्बद्ध रही सक्रिय हुनुहुन्छ।

प्रदीप रिमालको जन्म वि.सं. १९९४ मा ललितपुरको लुभुमा भएको थियो। लोकगीत र चलचित्र निर्माण उहाँका प्रारम्भिक रुचिका विषय थिए। उहाँ नेपालको पहिलो चलचित्रहरूमध्ये एक, माइतीघरको सह-निर्देशक पनि हुनुहुन्थ्यो। उहाँले के घर के डेराशिलु (नेपालभाषामा प्रथम चलचित्र) र माया को निर्देशन गर्नुभएको थियो। उहाँले धेरै वृतचित्रहरू पनि बनाउनुभएको थियो। उहाँ चलचित्र क्षेत्रको एक चर्चित गीतकार र आधुनिक गीतहरूको रचनाकार पनि हुनुहुन्थ्यो। उहाँको सम्मानमा नेपाल साङ्गीतिक संघले वार्षिक पुरस्कारको स्थापना पनि गरेको छ जुन विशिष्ट गीतकारलाई प्रदान गरिन्छ। उहाँको देहवसान वि.सं. २०७१ मा भएको थियो।

Share Via: