Social Science Baha
Official

Episode 4—Glenn C Loury: ‘The Simple Economics of Affirmative Action Policies’

यस लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा सम्पन्न ‘असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपालको प्रवेश’ विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश हो । त्यो सम्मेलन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको सोसल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यसनिम्ति ब्रिटिश एकाडेमी युके–साउथ एसिया पार्टनरसिप स्किम, लण्डन विश्वविद्यालयको गोल्डस्मिथ्स, येल विश्वविद्यालय, सामाजिक समावेशीकरण अनुसन्धान कोष र ओपन सोसाइटी फाउण्डेसनको सहयोग प्राप्त थियो । सो सम्मेलनमा सिर्जित ज्ञान आम नेपालीसम्म पुग्न सकोस् भनेर त्यहाँ प्रस्तुत कार्यपत्रहरूको नेपाली अनुवाद प्रकाशित गर्न लागिएको हो । शिक्षक मासिकका तीन अंकहरू (असार, साउन र भदौ २०७०)मा कार्यपत्रको नेपाली अनुवाद क्रमशः छापिने छन् । यस लेखको नेपाली रूपान्तरण पत्रकार मोहन मैनालीले गर्नुभएको हो । यस छापिएको लेखका बारेमा असार ३०, २०७० गते आइतबार बिहान ८ देखि ८:३० सम्म काठमाडौंको रेडियो सगरमाथा (१०२.४ मेगाहर्ज) लगायत देशका विभिन्न १६ वटा स्टेशनमा छलफल प्रसारण गरियो ।

सकारात्मक कदम सम्बन्धी नीतिको सरल अर्थशास्त्र
ग्लेन सी लौरी
(प्राध्यापक, समाज विज्ञान र अर्थशास्त्र, ब्राउन विश्वविद्यालय, अमेरिका)

Listen to or download radio programme
The Simple Economics of Affirmative Action Policies
{play}http://www.soscbaha.org/downloads/radio_programme/glenn_loury_14_july_2013.mp3{/play}

 

यस कार्यपत्रमा अमेरिकाको अनुभवको उदाहरणका आधारमा सकारात्मक कदम सम्बन्धी नीतिका बारेमा छलफल गरिएको छ, जुन अफ्रिकन–अमेरिकनको ऐतिहासिक पराधीनतासँग जोडिएको छ । यसमा सकारात्मक कदम सम्बन्धी नीतिका आदर्श र व्यवहारका बीचमा भएका भिन्नताका बारेमा उल्लेख गरिएको छ, जहाँ आर्थिक वास्तविकताले विभिन्न समस्या सिर्जना गरेका हुन्छन् ।

सकारात्मक कदमलाई यी तीनवटा कुराहरूको संयोग भएको कदम भन्न सकिन्छ ः (क) ‘सामाजिक पहिचान’ को संज्ञान, (ख) ‘असमानता’ प्रति चासो, र (ग) ‘सम्भ्रान्त पद’को नियन्त्रित ढंगबाट वितरण । यसले केही निश्चित मान्यता राखेको हुन्छ जुन यस प्रकार छन् ः (क) ज्यादा÷ कम रुचिका पदको आफ्नै तह छ र (ख) विभिन्न पहिचान भएका मानिसहरूको वंशज÷जनजाति समूहको विविधता उल्लेखनीय मात्रामा छ । यसले के मान्यता पनि राखेको छ भने विगतमा भएको सामाजिक वञ्चितीकरणले गर्दा यी समूहका बीचमा निकै मात्रामा सामाजिक अन्तर छ र यिनको सामूहिक प्रतिनिधित्व राजनीतिक÷आर्थिक रूपले आवश्यक छ ।

यी मान्यताका सम्बन्धमा सधैँभरि प्रश्न उठाउन सकिन्छ । वंशीय असमानताका बारेमा किन चासो राख्नुपर्यो ? हामीले वंशका आधारमा नीति तयार गर्नुपर्छ ? सामाजिक तथ्यांक वंशका आधारमा गणना गर्नुपर्छ ? भेदभावविहीन भेदभाव हटेपछिको समयका बारेमा कसले ख्याल राख्ने ? व्यक्तिले कस्तो अवसर पाउँछ भन्ने कुरा उसको सामाजिक हैसियत र सम्बन्धले निर्धारण गर्छ भन्ने महसूस गर्नु जरूरी छ । त्यसैले, वंशका आधारमा भएका असमानतालाई सम्बोधन नगरिकन यस विषयलाई सम्बोधन गर्न सकिँदैन । सकारात्मक कदमको नीतिका बारेमा केही प्राविधिक प्रश्न पनि छन्, जुन यस प्रकार छन् :

  • कुनै समूहका बारेमा निश्चित खालको छवि बनाउन सकारात्मक कदम सम्बन्धी नीतिको कत्तिको भूमिका छ ?
  • सकारात्मक कदमको नीतिले कुन अवस्थामा लाभग्राही समूहको सीप हासिल गर्ने उत्प्रेरणा घटाउँछन् ?
  • सकारात्मक कदमको नीति सीप विकास प्रक्रियाको शुरुमा उपयोग गर्दा राम्रो हुन्छ कि पछि गर्दा ?
  • बहुजातीय जटिल समाजमा सकारात्मक कदमको नीतिले कुन समूहलाई नजिक राख्नुपर्छ ?
  • सकारात्मक कदमको नीति अल्पकालका लागि हुनुपर्छ ? यदि त्यसो हो भने यसलाई कतिञ्जेलसम्म कायम राख्ने ?

सकारात्मक कदमका पक्ष र विपक्षमा विभिन्न तर्क गरिएका छन् । यसका विरुद्धमा तर्क गर्नेहरूले के विश्वास गरेका छन् भने यस्तो कदमले नीति–निर्माताहरूलाई व्यक्तिको जातीय पहिचानको ख्याल गर्न बाध्य बनाउँछ र लाभग्राहीप्रति विद्वेष पैदा गराउँछ । तर, यस कदमका पक्षपातीहरू के तर्क गर्छन् भने विगतमा विभेद भएको कुरालाई ख्याल नगरिकन बनाइएका नीतिले विगतमा भएको जातीय अन्यायलाई सच्याउन सक्दैन र सकारात्मक कदम पूर्ण समानता हासिल नभएसम्मका लागि तय गरिएको अल्पकालीन नीति मात्र हो ।

अमेरिकामा सकारात्मक कदमको नीति सम्बन्धी छलफल केही गलत सोचाइमा रुमल्लिएको छ । धेरैले राख्ने गरेका संदिग्ध सोचाइ यस प्रकार छन् ः कोटा निर्धारण नगरिकन पनि सकारात्मक कदमले आप्mनो लक्ष्य हासिल गर्न सक्छ, सकारात्मक कदमले लगानी गर्नका लागि हतोत्साह पैदा गर्छ, जातीय समानता यकिन गर्नका लागि समान अवसर नै पर्याप्त छ, सकारात्मक कदमले गैरअल्पसंख्यक समूहका धेरै मानिसमा प्रतिकूल असर पर्छ । अमेरिकाको शिक्षा प्रणालीको अनुभव हेरेका खण्डमा यस्ता धेरै मिथकका बारेमा स्पष्ट हुन सकिन्छ । उदाहरणका लागि, सन् १९९० को दशकमा अमेरिकाका ल स्कूलहरूमा सञ्चालित सकारात्मक कदमका बारेमा गरिएको अध्ययनले के देखायो भने काला र गोरा विद्यार्थीहरूको शैक्षिक प्रगतिबीचमा यति धेरै असमानता छ यसले ‘काला विद्यार्थीलाई यस नीतिले सधैँभरि सहयोग गरेको छ र’ भनी सोच्न बाध्य पार्छ । 

समग्रमा आँकडाले के देखाएका छन् भने भर्ना हुँदा जुन स्कूलले काला विद्यार्थीहरूको विगतको शैक्षिक उपलब्धि हेर्ने गर्छ, त्यस्ता स्कूलमा उनीहरूले अप्ठ्यारो बेहोर्नु परेको छ । यस अध्ययनले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा पनि प्रकाश पारेको छ जसले के देखाउँछ भने काला जातिका विद्यार्थीहरू कम अंक ल्याउने समूहमा पर्छन् जसले उनीहरूलाई उल्लेखनीय मात्रामा कमजोर बनाउँछ ।

अमेरिकाको इतिहासमा वंश, जातीय पहिचान र सकारात्मक कदमप्रतिको धारणा फेरिएको छ । तर अफ्रिकन–अमेरिकन समुदायलाई हेर्ने विभिन्न सकारात्मक र नकारात्मक दृष्टिकोण अझै  पनि कायम छन् । परिणामस्वरूप, अमेरिकामा जातीय भेदभावमा कमी आए पनि निश्चित खालको जातीय पराधीनता अझै  पनि कायम छ र काला र गोरा पुरुषको आम्दानीका बीचमा धेरै ठूलो अन्तर छ । सकारात्मक कदम लागू गरेको आधा शताब्दीपछि यी दुई जातीय समुदायको बीचको भिन्नता अलि अलि घट्दै त छ तर यस्तो असमानता अन्त्य हुने छाँट भने अझै देखिएको छैन । यस बाहेक, आजको युगमा पनि जातीय भेदभावका बारेमा कुराकानी गर्दा कलंकित हुनुपर्ने भएकाले धेरै विषयमा कुरा उठाइँदैन ।