Social Science Baha

SSB in the news

विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

सन्जिता देवकोटा
उज्यालो देश परदेश

23 August 2018

काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ । 

विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार कोमामा जाने अवस्था आयो भन्ने विषयमा अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्न लागिएको हो । 

अध्ययनको लागि टोली सम्बन्धित देशमा जाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो । 

मन्त्रालयले विदेशमा कोमामा रहेका नेपाली कामदार स्वदेश ल्याएर उपचार गराउने तयारी पनि गरिरहेको छ । यसको व्यवस्था मिलाउन निर्देशिका एवं कार्यविधि तयार पारिएको दाहालले बताउनुभयो  । 

निर्देशिका रायका लागि कानुन मन्त्रालयमा पठाइएको र कानुन मन्त्रालयको राय पछि अर्थ मन्त्रालयसँग समन्वय गर्ने उहाँको भनाई छ । मन्त्रीपरिषदबाट पास भएमा यो निर्देशिका एक महिनाभित्र कार्यन्वयनमा आउने प्रवक्ता दाहालले जानकारी दिनुभयो । 

वैदेशिक रोजगार प्रर्बद्धन बोर्ड र गन्तव्य देशमा रहेका नेपाली नियोगसँगको समन्वयमा सरकारले कोमामा रहेका नेपाली कामदारको तथ्याँक संकलन गरिरहेको छ । 

केही समय्अघि प्राप्त तथ्याङ्क अनुसार २३ जना नेपाली कामदार कोमामा रहेको भनिएको थियो । तर पछिल्लो समय १९ जनाको मात्र औपचारिक तथ्याँक प्राप्त भएको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो । 

विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग समन्वय भइरहेको र २५ देखि ३० जना कोमामा रहेका नेपाली कामदार विदेशस्थित अस्पलातमा उपचार गराइरहेको हुनसक्ने उहाँको अनुमान छ । 

तीन महिनाको उपचार खर्च मात्रै व्यर्होने

विदेशमा कोमामा रहेका कामदारलाई नेपाल ल्याए पनि सरकारले तीन महिनाको उपचार खर्च मात्रै व्यहोर्ने छ । कोमामा रहेको नेपालीलाई स्वदेश ल्याउन बनेको निर्देशिकामा तीन महिनाको उपचार खर्च मात्रै व्यहोर्ने प्रावधान भएको प्रवक्ता दाहालले बताउनुभयो । 

निर्देशिका अनुसार तीन तरिकाबाट कोमामा रहेका कामदारलाई नेपाल ल्याउन सकिन्छ । पहिलो, रोजगादाताले नै सबै खर्च व्यहोरेर पनि नेपाल पठाउन सक्छन् । 

दोस्रो, परिवारले नै उपचार खर्च र ल्याउने खर्च व्याहोर्ने गरी आफन्त स्वदेश ल्याउन सक्छन । र, यदि त्यसो नभएमा सरकारले नै ल्याउने र तीन महिनाको उपचार खर्च व्याहोर्ने प्रवक्ता दाहालले जानकारी दिनुभयो । 

दुर्घटना रोगका कारण कोमामा पुग्ने सम्भावना

कोमामा जाने कारण धेरै छन् । यही कारणले गर्दा कोमामा जान्छन् भन्न नसकिए पनि दुर्घटना र विभिन्न रोगका कारण नेपाली कामदार विदेशमा कोमामा जाने गरेको अनुसन्धानकर्ता डा. जीवन बानियाँ बताउनुहुन्छ । 

विदेश जाने बेला स्वास्थ्य परीक्षणका सबै प्रक्रियामा पास भएर गएका कामदार पनि कोमामा गइरहेका छन् । ट्राफिक संकेत र काम अनुसार अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदारलाई गम्भीर रोग लाग्ने र दुर्घटनामा पर्ने गरेको डा. बानियाँ बताउनुहुन्छ । 

सामान्य बिरामी हुँदा कामदारले नै बेवास्ता गर्ने र समस्या गम्भीर हुँदै गएपछि कम्पनीले जिम्मेवारी नलिने गर्दा पनि कोमामै जाने सम्भावना हुने उहाँले बताउनुभयो । 

विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम पर्याप्त नहुँदा पनि धेरै नेपाली विदेशमा समस्यामा परिरहेका हुन्छन् । विदेशको वातावरण, रहनसन, नीति नियम, कामको प्रकृति र समस्या परिहाले जाने ठाउँ थाहा नहुँदा पनि धेरैजसो अप्ठ्यारोमा पर्छन् । 

आर्थिक वर्ष २०७४/७५ मा ३ सय ६१ जना नेपाली अंगभंग र बिरामी भइ विदेशबाट फर्केका छन् । यो संख्या वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट क्षतिपूर्ति पाउनेको मात्रै हो ।

नेपाली कामदारका मुख्य गन्तव्य देशबाटै धेरैजना घाइते र बिरामी भएर फर्कने गरेका छन् । गएको वर्ष मलेसियाबाट घाइते तथा बिरामी भएर १ सय १० जना युवा नेपाल फर्किए । त्यस्तै साउदीबाट ८९, कतारबाट ७० जना र युएईबाट ६२ जना फर्केका छन् ।  

विदेश जानु अघि त्यहाँ रहँदा ध्यान दिनुपर्ने कुरा

विदेशमा काम गर्दा सानोतिनो सुरक्षामा मात्रै ध्यान दिँदा पनि अंगभंग र बिरामी हुनबाट बच्न सकिन्छ । विदेश जानुअघि नै आफूले गर्ने काम र जाने देशका बारेमा सामान्य जानकारी राख्न आवश्यक छ । 

काम गर्दा आइपर्ने समस्या र त्यसबाट बच्न सकिने समाधानका उपयका बारेमा कामदारले नै ध्यान दिनु पर्छ । विदेश जानुअघिको अभिमुखिकरण तालिम देश अनुसारको भएमा पनि विदेशमा दुर्घटना जस्तै अरु समस्याबाट कामदारलाई बचाउन सकिने डा. बानियाँ बताउनुहुन्छ । 

विदेश जाने कामरदाहरुमा व्यवसायजन्य सुरक्षाका बारेमा सूचनाको कमी भएका कारण अंगभग हुने, निको नहुने रोग लाग्ने, ट्राफिक संकेतको बारेमा जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेको देखिन्छ । त्यसैले विदेश जानुअघि नै आफूले गर्ने काम र त्यससँग सम्बन्धी असुरक्षाबारे थाहा पाउनुपर्ने उहाँको भनाई छ ।

 कतिपय कामदार र कम्पनीले नै सुरक्षाको मापदण्ड नअपनाउँदा पनि दुर्घटना निम्तने र कोमामै जाने अवस्था आउन सक्ने डा. बानियाँले बताउनुभयो । समस्या कम हुँदा वेवास्ता गर्ने र बढ्दै गएपछि कम्पनीले पनि राम्रो ख्याल नगर्दा झन समस्या बढ्ने भएकाले बेलैमा चनाखो हुन उहाँको सुझाव छ । 

अहिले व्यवसायजन्स सुरक्षालई नेपाल सरकारले ऐनमै उल्लेख गरेको छ । श्रम ऐन २०७४ र श्रम नियमवाली २०७५ मा पनि व्यवसायजन्य सुरक्षाका विभिन्न पक्षहरुलाई समेटिएको छ ।

व्यवसायसँग सम्बन्धित कामदारका लागि शारीरिक, मानसिक लगायत सुरक्षाका बाटोहरुमा अपनाउनु पर्ने विधिलाई मध्यनजर गर्दै ऐन र नियमावलीमा पनि सुरक्षाको व्यवस्था गरिएको हो । 

विदेशमा काम गर्दा गह्रौं सामान उचाल्नु पर्ने छ वा यताउता सार्नुपर्ने छ भने काम गर्ने ठाउँमा भएका लिफ्ट आदिको प्रयोग गर्नुपर्छ । सकभर जाँडरक्सी, चुरोटबिडी नखान डाक्टरको सुझाव छ । 

काम गर्दा बेल्ट, टोपी, पञ्जा, मास्क प्रयोग गर्नुपर्छ । यसो गर्दा चोटपटकबाट बच्न सकिन्छ । धेरै घण्टा एउटै काम गर्दा तनाव हुनसक्छ । घर परिवार, साथीभाइका कारण पनि तनाव हुन्छ । यस्ता कुरा कम गर्ने प्रयास गर्नुपर्छ । 

विदेश गएर फर्कने सय जनामध्ये ५६ जना कामदारमा स्वास्थ्य समस्या देखापर्ने गरेको विभिन्न देशका डाक्टर तथा स्वास्थ्य संस्थाले मिलेर गरेको अध्ययनले देखाएको छ । 

बितेका ८ वर्षमा मात्रै पाँच हजार ७ सय ८४ जना नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । क्यान्सर, मुटु, मिर्गौला काम नलाग्ने लगायतका घातक रोगबाट पीडित भएर फर्कने युवाको संख्या पनि उत्तिकै छ । त्यस्ता समस्याबाट बच्न कामदार आफैं चनाखो हुनुपर्ने अनुसन्धानकर्ता डा. जीवन बानियाँले बताउनुभयो ।   

Link

Share Via: