अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति सम्बन्धमा सोसल साइन्स बहाःको धारणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही २०७३ साल असोज ९ गते यस संस्थालाई आफ्नो कुरा भन्ने मौका समेत नदिई एक पक्षीय रुपमा एक प्रेस विज्ञप्ति प्रकाशित गरी सोसल साइन्स बहाःले समाज कल्याण परिषद् मार्फत २०७३ साल असार २२ र २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उपलब्ध गराएका कागजातहरुमा उल्लेखित तथ्यलाई तोडमोड गरी खर्च शीर्षक तथा रकमसमेत गलत अर्थ लगाउन मिल्ने गरी बङ्गयाईएको छ ।

यस्तै गरी, आयोगले सोसल साइन्स बहाः अन्तर्गत सञ्चालित एलायन्स फर सोसल डायलग नामक कार्यक्रमलाई छुट्टै संस्थाका रूपमा चित्रण गरेको छ जुन सरासर गलत कुरा हो । एलायन्स फर सोसल डायलग नामक कार्यक्रम सञ्चालन गर्न सोसल साइन्स बहाःले प्रचलित कानुन अनुरूप समाज कल्याण परिषद्बाट पूर्व स्वीकृति लिएको छ । (संलग्न समाज कल्याण परिषद्को स्वीकृति पत्रहरू ।)

सोसल साइन्स बहाः आफूले कुनै पनि प्रचलित कानुनको उल्लङ्घन नगरेको व्यहोरा गर्व र दाबीका साथ उल्लेख गर्न चाहन्छ । विभिन्न निराधार आरोप लगाई, विषयवस्तुभित्र गैरकानुनी ढङ्गबाट प्रवेश गरी न्यायिक निकायले झैँ ठहर गरेर अख्तियारले प्रेस विज्ञप्ति निकाल्नु नेपालको संवैधानिक व्यवस्था तथा प्रचलित नीति–नियमको बर्खिलाप छ, पूर्वाग्रह तथा दुराशयबाट ग्रसित छ । यो अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको काम हो ।

हामी राज्यका जुनसुकै निकायबाट कानुन बमोजिम हुने परीक्षणमा दृढताका साथ उत्रिन र हाम्राबारे गरिने अनुसन्धानमा सहयोगसमेत गर्न हमेसा तयार छौँ । हामी चाहन्छौँ — संविधान बमोजिम स्थापित गरिमामय निकायहरूले समेत संविधान र कानुनको दायराभित्र रहेर विना पूर्वाग्रह आफ्ना काम कारबाही सम्पादन गरून् ।

सोसल साइन्स बहाः समाज विज्ञानका क्षेत्रमा गहन प्रकृतिको अध्ययन, अध्यापन एवं अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्य लिई प्रचलित कानुन बमोजिम स्थापित, सञ्चालित र क्रियाशील विशुद्ध सामाजिक संस्था हो । यी उद्देश्य प्राप्त गर्न सोसल साइन्स बहाःले निम्न काम गर्दै आएको छः नेपाली शोधार्थीहरूको क्षमता र चाख अभिवृद्धि गर्ने, यी कामलाई स्तरीय र विश्वसनीय बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थासँग सहकार्य गर्ने, समाज विज्ञान सम्बन्धी स्तरीय पुस्तकालय सञ्चालन गर्ने र समाज विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान तथा अनुभव आदान–प्रदान तथा प्राज्ञिक विचार–विमर्शका माध्यमबाट प्राप्त ज्ञानलाई एउटा ‘थिङ्क ट्याङ्क’ का रूपमा नेपाली समाजको उन्नयनमा उपयोग गर्ने र यस कामका लागि विभिन्न विचार तथा नीति निर्माण एवं नीति विश्लेषणका लागि निरन्तर विचार–विमर्श, व्यवस्थित संवाद अभियान र अन्तरक्रिया सञ्चालन गर्ने ।

सोसल साइन्स बहाःले समाज विज्ञानका विषयमा अध्ययन, अनुसन्धान, प्राज्ञिक सम्मेलन, गोष्ठी, बौद्धिक प्रवचन (लेक्चर), तालिम, पुस्तक प्रकाशन, बृहत् शैक्षिक समाजको हितका लागि नेपालका पुस्तकालयहरूको क्षमता विकास तथा शैक्षिक स्रोतमा सहज पहुँच पुर्याउने एवं बृहत् पुस्तकालय सञ्चालन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस संस्थाले बहुलवादी समाज विकासको अभिन्न अङ्ग मानिने विधिको शासन, संवैधानिक सर्वोच्चता, लोकतन्त्र तथा सुशासन, समावेशीकरण, पारदर्शिता तथा उत्तरदायित्वका क्षेत्रमा प्राज्ञिक निकायका रूपमा समेत काम गरिरहेको छ । साथै, यस संस्थाले एलायन्स फर सोसल डायलग कार्यक्रमका अतिरिक्त सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, इन्टरएक्टिभ म्यापिङ एण्ड अर्काईभ प्रोजेक्ट लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

सोसल साइन्स बहाः २०६३/१०/१ मा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता भई २०६३/१०/१० मा समाज कल्याण परिषद्मा आबद्ध भएको हो । सोसल साइन्स बहाःले २०६३/१०/१४ मा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको छ । त्यस पश्चात् यस संस्थाले कानुन बमोजिम वार्षिक रूपमा समाज कल्याण परिषद् तथा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट आवश्यक कानुनी स्वीकृति लिई काम गर्दै आएको छ ।

धन्यवाद !